सुर्खेतबाट नेता लेखनाथले भने– ‘सांसदलाई मन्त्री बनाउनुहुन्न’

   नयाँ दैनिक comment 0

सुर्खेत ७, बैशाख । सत्तारुढ नेकपाका युवा नेता लेखनाथ न्यौपानेले सांसदलाई मन्त्री बनाउन नहुने धारणा व्यक्त गरेका छन् । अनेरास्ववियु र अखिल (क्रान्तिकारी) सुर्खेत जिल्ला कमिटीको संयुक्त आयोजनामा न्यौपानेद्वारा लिखित दशौँ कृतिको परिचर्चासहित कम्युनिस्ट आन्दोलनबारेको वहस कार्यक्रममा नेता न्यौपानेले यस्तो धारणा व्यक्त गरेका हुन् ।

मध्यपश्चिम विश्वविद्यालयमा शुक्रबार भएको सो कार्यक्रममा करिब एक घण्टा लामो मन्तव्यका क्रममा नेता न्यौपानेले तर्क गरे, ‘पैसाले टिकट किन्ने, पैसा खर्च गरेरै चुनाव जितेर सांसद बन्ने र मन्त्री बनेर पैसा कमाउने मानसिकता भइन्जेल भ्रष्टाचार रोकिँदैन । सांसदले कानुन बनाउने हो, विकासका फाइल बोकेर हिँड्ने होइन ।’ विज्ञहरुबाट मन्त्री बनाए मात्रै विकास हुने र कतिपय देशमा यस्तै अभ्यास भएको न्यौपानेको भनाई छ ।

नेकपाका केन्द्रीय सदस्य न्यौपानेले पार्टीको सम्पत्ति निजीकरण हुन नहुने बताए । उनले भने, ‘पार्टीको सम्पत्ति निजीकरण गर्न पाइने भएपछि लाभको पद सबैले खोज्छन् । उत्तिकै योगदान गरेको कसैले लाभ लिइराख्ने, कसैले पाउन नहुने भन्ने हुँदैन । एउटै पार्टी र आन्दोलनमा उसले अवसर पाउने त्यसले किन नपाउने ? मैले पाउने, तपाईंले किन नपाउने ? भन्ने सोच आउँछ र अस्वस्थ प्रतिस्पर्धा हुन्छ ।’ कुनै पदबाट आर्जित स्रोत-साधन पार्टीकरण भएमा कुनै नेता/कार्यकर्ताले अन्याय भएको महसुस नगर्ने उनको दावी थियो ।

कम्युनिस्ट पार्टीमा ज्ञान उत्पादन नै हुनै छाडेको र भौतिकवादी दृष्टिकोण कमजोर हुँदै गएकोमा न्यौपानेले चिन्ता व्यक्त गरे, ‘कम्युनिस्ट पार्टीको नेता माला लगाएर पूजा गर्दै हिँड्छ, पूजारी हो कि नेता हो छुट्याउनै गाह्रो हुन्छ । सरकारी सम्पत्ति आफ्नो नाममा गर्छ, टुप्पी पालेर हिँड्छ, मरेका मान्छेले पाउँछन् भनेर क्रियाको नाममा भातका डल्ला बारीका डिलबाट लडाउँछ भने त्यस्ता नेताबाट अरुले सिक्ने के हो ?’

तत्कालीन नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य समेत रहेका नेता न्यौपानेले परिवर्तनको पक्षमा काम गर्ने हो भने एमाले र माओवादीको एकता सही हुने दावी गरे । नेपाली समाजका सबै आयामहरु आलोचनाको केन्द्रमा रहेको भन्दै नेता न्यौपानेले भने, ‘गुणस्तरीयता र नैतिकता भए राजनीतिले सबै नकारात्मक आयामलाई नियन्त्रण गर्न सक्छ । राजनीति आफैँ खराब भए उसले त्यो हैसियत गुमाउँछ र मुलुक खतरातिर जान्छ ।’

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सहइन्चार्ज यमलाल कँडेलले कम्युनिस्ट आन्दोलन सम्भावनातर्फ नै उन्मुख भएको दावी गरे । पूर्वमन्त्री समेत रहेका नेता कँडेलले भने, ‘लेखनाथजी ४ वर्षभन्दा धेरै जेल बस्नुभएछ । अहिले कम्युनिस्टलाई पहिलेजस्तो जेल बस्नु र लुक्दै हिँड्नु पर्दैन । हामीसँग दुईतिहाई जनमत छ, काम गर्न सक्दा सम्भावना धेरै छ ।’

सोही कार्यक्रममा अखिल (क्रान्तिकारी)का पूर्वमहासचिव कमल शाहीले लेखक न्यौपानेको क्षमता र इमान्दारीताबाट प्रभावित भएको बताए । नेकपाको कर्णाली प्रदेश सदस्य समेत रहेका युवा नेता शाहीले भने, ‘लेखनाथसँग मैले लामो समय सहकार्य गर्न पाएँ, कहिल्यै नराम्रो भएन । हामीले आदर्श मानिरहेको र देशकै नेतृत्व गर्न सक्ने क्षमता भएको नेता हो उहाँ ।’ सोही सन्दर्भमा नेता शाहीले नेकपाकै नेतृत्वमा मुलुकमा समृद्धि आउने समेत दावी गरे ।

युवा नेतृ पञ्चा सिंहले गुटगत मानसिकता त्याग्दै एकतावद्ध भएर पार्टी र देश निर्माणमा लाग्नुपर्ने आवश्यकता औल्याईन् । नेकपाको कर्णाली प्रदेश कमिटी सदस्य समेत रहेकी नेतृ सिंहले संघर्षको इतिहासबारे भनिन्, ‘किताब कम्युनिस्ट आन्दोलनबारे बुझाउने खालको छ र लेखक दाइ लेखनाथ न्यौपाने मैले आदर्श मान्ने नेता पनि हो । पार्टीभित्र गुटसंघर्ष चर्को हुँदा पनि दाइले अरु नेताले झैँ पूर्वाग्रह साँध्नुभएन ।’ अखिल (क्रान्तिकारी)की केन्द्रीय उपाध्यक्ष समेत रहेकी सिंहले विद्यार्थी संगठनले प्रतिपक्षको भूमिका खेल्न नसकेकोमा चिन्ता र आक्रोश समेत व्यक्त गरिन् ।

उपप्राध्यापक रमेश विष्टले संघर्षको इतिहासको परिचर्चा गर्दै लेखकको सिद्धान्त र व्यवहारमा तादम्यता भएको बताए । विष्टले भने, ‘लेखनाथजी लेखक मात्रै होइन, नेतासँग आँखा जुधाएर बोल्न सक्ने हैसियत भएको नेता पनि हो ।’ कम्युनिस्ट पार्टीभित्र पठन सँस्कृति हराउँदै गएकोमा चिन्ता व्यक्त गर्दै विष्टले कम निस्ठावान नेताको जमात भएकाले कम्युनिस्ट पार्टीलाई ‘कमनिस्ट’ पार्टी भन्न थालिएको बताए ।

उपप्राध्यापक विष्णुप्रसाद खड्काले ‘होटल र बोटल’बाट कम्युनिस्ट जन्माउने र अन्माउने भएको दावी गर्दै यसको अन्त्य जरुरी भएको बताए । नेपालका कम्युनिस्ट पार्टीमा लेखक न्यौपानेजस्तै गर्व गर्न लायक नेताको संख्या अति कम रहेको उनको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *