स्विस बैंकसँगको साइनो-पम्फादेखि मिनुसम्म

   डा.राजेन्द्र चापागाईं comment 2

संसार परिवर्तनशील छ र यो परिवर्तनशील संसारमा हर चिज परिवर्तनशील छन् । भौतिक मात्र नभएर अभौतिक, वैचारिक, नैतिक मूल्य र मान्यता पनि परिवर्तनशील छन् । हिजोका मूल्य र मान्यता आज उही अवस्थामा खोज्नु परिवर्तनलाइ आत्मसाथ गर्न नसक्नु हुन सक्छ ।

मलाइ संझना छ, स्कुल पढ्दा अर्थशास्त्रका गुरुले भन्नुभएको थियो, ‘नेपाल गरिब जनता बसोबास गर्ने धनी देश हो ।’ त्यो परिभाषा त्यो समयको रहेछ, अहिले परिभाषा परिवर्तन हुँदैछ, ‘नेपाल धनी मानिस बसोबास गर्ने गरीब देश हो ।’ हो, अहिले मेरो देश धनीहरु बस्ने गरिब देश हो । यहाँ नाम सुनिएका व्यापारी घरना, नेता, कर्मचारीभन्दा नाम नसुनिएका धेरै धनाड्यहरु मेरो देशमा बस्छन् अर्थात नेपाली हुन् भन्ने कुराको सानो प्रमाण ‘खोज पत्रकारिता केन्द्र’ले यतिखेर सार्बजनिक गरेको छ ।

ज्युरिकको स्विस नेसनल बैंकमा मात्र आधा अर्बभन्दा बढी रकम एउटै नेपालीको नाममा भेटिएको छ भने सरकारसँग अनुमती नलिइ बिदेशमा लगानी गर्ने ५५ नेपाली धनाड्यहरु भएको समेत खुलासा गरेको छ । यो त भयो स्विजरल्याण्डको एक बैङ्कको कुरा, अन्य बैंकहरु र अन्य देशहरुमा रकम डिपोजिट गर्ने र लगानी गर्नेहरुको कुरा अझै पर्दाभित्र छ । सोको पनि खोजी हुनुु आवश्यक छ ।

यो इन्टरनेटले संसारलाइ एक ब्रह्माण्डिय गाउँ बनाएको समयमा सो को नालिबेली पनि छिट्टै खुलासा हुनेछ । देशका नागरिकहरुले बिदेशमा जम्मा र लगानी गरेको धनको बिबरण सार्बजनिक हुँदा हाम्रो देशको अर्थशास्त्रीय परिभाषा परिवर्तन हुनेछ अनि संसारले चिन्ने छ ‘नेपाल धनाड्यहरु बस्ने गरीब जनाताको देश हो ।’

‘भ्रष्टाचार शुन्य सहनसिलता’का मन्त्र यो देशका हरेक सरकारले जप्दै आए, अनि हामीले पत्याउँदै पनि आयौँ । तर देस क्लेप्टोमानियाले ग्रसित हुँदै गयो । हामीले प्रजातन्त्र अर्थात डिमोक्रेसिको नाम जप्दै आयौँ तर देश क्लेप्टोक्रेसिमा रुपान्तरण हुँदै गयो । क्लेप्टोमानिया एक मेडिकल टर्मिनोलोजी रहेछ, एक मानसिक रोगको नाम रहेछ जसको अर्थ हुन्छ ‘छिटोभन्दा छिटो अकुत सम्पत्ति प्राप्त र जम्मा गर्नु पर्ने मानसिक रोग ।’

यो मानसिक रोग क्लेप्टोमानियाबाट ग्रसित बहुसंख्यक रोगीहरु छन् यो देशको नेतृत्वमा, राजनितिमा, उद्योग, ब्यापार व्यवसायमा, शिक्षा, स्वास्थ्य, संस्कृति, धर्मलगायत हरेक सरकारी, गैह्रसरकारी संघ संस्थाहरुमा । मानवअधिकार, समाजसेवा, जाती, वर्ण, लिङ्ग, जैविकता, वन्यजन्तु, प्रकृति, वातावरण आदि संरक्षणका सुन्दर नाममा संलग्न भएकाहरु पनि बहुसंख्यक क्लेप्टोमानियाका रोगीहरु छन् । अनि भ्रष्टाचार शुन्य सहनसिलताको सरकारी मन्त्र भद्दा जोक बनेको छ ।

पुलिट्जर पुरस्कार बिजेता अमेरिकन लेखक प्रोफेसर जेरिड डायमन्डका अनुसार, क्लेप्टोक्रेसीमा सत्ता र शक्तिले सस्तो लोकप्रियताका लागि राज्यको ढुकुटी बाड्छन् र जनताको बफदारी बटुल्छन् अनि श्रोत र साधन केद्रीकरण गरिन्छ, आदर्शको लेपन लगाएर राष्ट्रको ढुकुटी, प्राकृतिक श्रोत र साधन दोहन गरिन्छ । हो, यसरी नै बिते नेपालका धेरै राजनितीक दशकहरु । परिणाम सत्ता र शक्ति मोटाउँदै गयो, जनता लड्डुमा भुलेर दुव्लाउँदै गए ।

ब्रीटिस समाजसास्त्री प्रोफेसर स्टालिभ एन्ड्रेज्स्कीले आफ्नो पुस्तक ‘द अफ्रिकन प्रिडिकामेन्ट’ (1968) मा अफ्रिका र ल्याटिन अमेरिकालाइ क्लेप्टोक्रेसी अर्थात ‘चोरहरुको शासन’ले कसरी सख्त घायल बनायो भनेर लेखेका छन् । आज अफ्रिका, कङ्गो, लाइबेरिया, नाइजेरिया जस्ता देशहरु प्राकृतिक श्रोत र सम्पदाले धनी भएर पनि क्लेप्टोक्रेसिको कब्जामा छन् । लाग्छ, नेपाल पनि त्यही सुचिमा छ । प्राकृति श्रोत र जनशक्ती प्रसस्त भएर पनि विकासको गति लिन नसकेको देश नेपाल हो र यो देशले संसारमा स्विकार गरिएको विकास सिद्धान्त नै असफल गराइदिएको छ भन्ने पनि सुनिन्छ ।

क्यानडियन पत्रकार तथा लेखक डायना फ्रान्सिसले 1986 मा आफ्नो पुस्तक ‘कन्ट्रोलिङ इन्ट्रेस्ट हु ओन्ज क्यानडा ?’ भन्ने पुस्तकले क्यानडाको एक तिहाइ सम्पत्ति जम्मा बत्तिस परिवारको नियन्त्रणमा छ भन्ने सनसनिपूर्ण तथ्य उल्लेख गरेपछी क्यानडाले शक्ति र पुँजी बितरणमा परिवर्तन ल्याउनु परेको थियो । अब तिनै महिला लेखक फ्रान्सिस जस्ता लेखक र पत्रकार नेपालमा निस्कनुपर्छ र ती लेखक र पत्रकारले नेपालको कुल सम्पत्ती स्वामित्वको तथ्यगत विवरण स्वदेश र विदेशमा खोज्नुपर्छ । पक्का हो विवरण कहालिलाग्दो हुनेछ ।
‘खोपेक’को खोजमा नामै नसुनिएका व्यक्तिको नाममा स्विस बैंकमा पौने तीन अर्ब रकम बचत जम्मा गर्ने नेपाली धनाड्य बानेश्वरका धेरै मिनु शाहहरु र स्वदेशमा बसेर बिदेशमा लगानी गर्ने धेरै सुमार्गी र डोल्माहरु जस्ता अरु धेरै शाह र डोल्माहरु पत्ता लाग्न सक्छन् ।

अब ०४५ र ४६ सालतिरका चर्चित स्विस बैंकसँग जोडिएका रहस्यमयी धनाड्य पम्फादेवी ठकुरीहरु पर्दा बाहिर ल्याइनुपर्छ । पम्फादेवी तत्कालिन समयमा धेरैले तत्कालिन रानी ऐश्वर्य भएको पनि आशंका गरेका थिए अर्थात पञ्चायत बिरुद्दको सेन्टिमेन्ट खिच्ने बिकाउ माल बनाइएको थियो । ‘खोपेक’ले पनि ती रहस्यात्मक पम्फादेवीलाइ बाहिर ल्याउन सकेको छैन, बरु थुप्रै शाह र डोल्माहरु सार्बजनिक गर्यो । यी डोल्मा र शाहहरु भन्दा बढी धनाड्य, बिदेशी बैंकमा बचत गर्ने वा लगानी गर्ने धेरै पम्फादेवी ठकुरीहरुको रकम र लगानी स्वदेश भित्राइनुपर्छ ।

साँच्चै भन्नुपर्दा ०४६ सालपछि यो देशको अर्थनीति धरमर अवस्थामा रह्यो र ०५२ साल पछिको माओवादी बिद्रोहपछि त अर्थनीति नै धरापमा पर्यो । स्वदेशमा आफ्नो सम्पत्तिको सुरक्षा महसुस गर्न सकेन एलाइट बर्गले । जिउ कै त सुरक्षा ग्यारेन्टी थिएन भने धनको हुने कुरै भएन । एकातिर बैंकहरु लुटिने क्रमहरु चले भने अर्कोतिर देशमा बिदेशी चलखेल र दिल्ली नियन्त्रण बढ्दै गयो । अनि राष्ट्रिय पुँजी विदेशीने क्रम स्वत बढ्दै गयो । स्वदेशमा बचत र लगानीको सुरक्षा नदेखेर पनि केही स्वदेशी रकम बाहिरिएको हुन सक्छ भने मौसमी सरकार बन्ने, भत्किने क्रम बिगत तीन दशकसम्म निरन्तर रह्यो ।

मौसमी सरकारहरु दिल्ली नियन्त्रित हुन पुगे र आफ्नो समयावधिको केही टुङ्गो नभएकाले सत्ता प्राप्ति हुनासाथ जति छिटो, चाँडो आफ्नो र आफ्ना आफन्त नतागोता र शुभचिन्तक, आसेपासे हनुमानहरुको समेत आर्थिक फाइदाका लागि आर्थिक र नितिगत भ्रष्टाचार, अनियमितता अपनाउन थालियो । नेता वा नेताका परिवार स्वयम् वा नाता, आफन्त, बिश्वासी हनुमन्तेहरु मार्फत भए पनि पुँजी बिदेशान्तरण गरेर स्विजरल्याण्ड मात्र होइन अन्य मुलुकका बैंक वा कम्पनीमा राखी पुँजी, सम्पत्ती सुरक्षाको ग्यारेन्टी महसुस गर्न थालियो । परिणामस्वरुप अहिले पहिलो चरणमा आधा खर्बभन्दा बढी रकम र करिब तीन दर्जन ब्यक्तिको सरकारको अनुमतिबिना विदेशमा लगानी देखियो । खोजको क्रम जारी रहने नै छ, बिस्तारै धेरै गरीब देशका धनाड्यहरु देखिने छन् ।

अधिकांस पेसेवर नेताका आफ्नो गाउँ बाहेक शहर बजारमा पनि महल छन् । ती महल कसरी बने ? के हो उनीहरुको आय आर्जनको स्थायि श्रोत ? कसैले सोध्ने खोज्ने हिम्मत गर्दैन । हुन त राजनीति नै कर्पोरेट ब्यबसाय बन्दै फस्टाउँदै गएको छ । अख्तियार नामको संस्था खरदार मुखियाका पछि दौडँदै, स्याल खेदेर बाघ मारेको गफ र गर्वानुभूतिमा मख्ख छ । नत्र हिजैदेखिका यतिका घोटला र नितिगत भ्रष्टाचारहरु टुलुटुलु हेरेर बस्थैनथ्यो होला ।

हुन त ठूल्ठूला घोटला राष्ट्रिय सहमतिमै भएजस्ता देखिन्छन् । ससाना मुद्दामा पक्ष र बिपक्षले तिब्र मतभेद राखि मुठी बजारे पनि ठूला घोटलाहरुमा केही दिन बोल्ने अनि मौन रहने अर्थात शीर्ष नेताहरुकै संलग्नता रहेको थाह पाए पछि ह्विप जारि हुँदो रहेछ । अनि तै चुप, मै चुप हुँदै आएको छ, इतिहास र बर्तमान साक्षी छन् । अनि अख्तियार मुकदर्शक बन्नुको बिकल्प रहँदैन ।

अन्त्यमा, ‘खोपेक’ले एक नयाँ थालनी गरेको छ र यस खोजको निरन्तरता रहोस् । यसका लागि नागरिक ऐक्यवद्धता रहने नै छ । यस्ता खोजहरुले शासक र शासित, धनाड्य र लगानिकर्ता दुवैका आँखा खोल्नेछन् । बिदेशिएको राष्ट्रिय पुँजी यथासक्य छिटो स्वदेशमा भित्राउन सरकारले तुरुन्त पहल गरोस् र सो पुँजी स्वदेशमै उत्पादसँग सम्बन्धित क्षेत्रमा लगानी गर्ने वातावरण निर्माण गरोस् ।

स्वदेशी, विदेशी नागरिकको सम्पत्ति, वैध आय आर्जन, लगानिमा सुरक्षा प्रदान गर्नुपर्छ र स्वदेशमै बचत र लगानी सुरक्षित रहने विश्वासको वातावरण तयार हुनुपर्छ । लगानी वृद्धिका लागि क्षेत्र वर्गीकरण र बिस्तार गरेर, कानुनी अड्चन भए राष्ट्रलाई प्रतिकुल असर नपर्नेगरि खोकुलो, सहज बनाएर राष्ट्रिय पुँजीको संरक्षण राष्ट्र भित्रै गरिनुपर्छ । अब नयाँ देशसँग श्रम स्वकृति लिएर युवा मसल र रगत बेच्ने बाटो खोलेकोमा सरकारले गर्व गरेको हेड न्युजभन्दा, बिदेशिएको आर्थिक पुँजी, मसल र ब्रेन पुँजी स्वदेशमा फर्काएर उत्पादनमा लगाई देश समृद्धिको मार्गमा अघि बढेको हेड न्युज पढ्न र अनुभूति गर्न पाइयोस् ।

समृद्धि हाम्रै पाला सम्भव छ, आवस्यक छ इच्छा शक्तिको । अस्तु

(प्रतिक्रियाको लागि : aahatchapa@gmail.com)

लेखक त्रिभुवन विद्यालयका अंग्रेजी विषयका सहप्राध्यापक हुन् ।

2 thoughts on “स्विस बैंकसँगको साइनो-पम्फादेखि मिनुसम्म”

  1. Deependra Parajuli says:

    अब नयाँ देशसँग श्रम स्वकृति लिएर युवा मसल र रगत बेच्ने बाटो खोलेकोमा सरकारले गर्व गरेको हेड न्युजभन्दा, बिदेशिएको आर्थिक पुँजी, मसल र ब्रेन पुँजी स्वदेशमा फर्काएर उत्पादनमा लगाई देश समृद्धिको मार्गमा अघि बढेको हेड न्युज पढ्न र अनुभूति गर्न पाइयोस् ।अत्यन्त सान्दर्भिक लेख।

  2. Indra Bahadur Thapa says:

    A commendable endeavor to hit the nail on the head!!! The article gives the distressing picture of deeply rooted corruption in the country. These are the hard facts and an article like the given one acts as an eye-opener for blind followers of corrupt leaders. I can only appreciate the serious efforts of the writer.

Leave a Reply

Your email address will not be published. Required fields are marked *