हिन्दुहरुको पर्व चैते दशैँ तथा रामनवमी मनाइदै

   नयाँ दैनिक comment 0

चैत ३०, काठमाडौँ । आज हिन्दुहरुको दोस्रो ठूलो चाडका रुपमा रहेको चैते दशैं तथा रामनवमी पर्व हो । अघिल्ला वर्षहरुमा फरक–फरक दिनमा चैतेदशैं र रामनवमी पर्व पर्ने गरेको भए पनि यस वर्ष एकै दिन परेको पञ्चांग निर्णायक समितिले जनाएको छ । अष्टमीलाई पूर्वाह्न र नवमीलाई अपराह्नको समय लिनुपर्ने भएकाले एकैदिन दुवै पर्व परेको पञ्चांग निर्णायक समितिको भनाइ छ ।

असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको जितको रुपमा हिन्दूधर्मावलम्बीहरुले वर्षमा दुईपटक दशैं मनाउने गर्छन् । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी ‘रामनवमी’ पर्व मनाइन्छ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरमा पूजापाठ गरिन्छ ।

त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा भगवान् श्रीरामको जन्म भएको स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ ।

 
चैते दशैंको दिन काठमाडौंका भद्रकाली, शोभाभगवती, दक्षिणकाली, गुहेश्वरी, संकटा, नक्साल भगवतीका साथै गोरखाको मनकामना, गोरखकाली, काभ्रेको पलाञ्चोक भगवती, पोखराको विन्धबासिनीलगायत देशभरका शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । साथैआज जनकपुरस्थित रामजानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतका नरनारीको घुइँचो लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *