२८ घण्टाको लडाइँमा बेइजिङ कब्जा …

   रमेश मल्ल comment 0

चीनमा जापानी साम्राज्यवादी अत्याचारले सीमा नाघेको बेला ‘राष्ट्रवादी’ च्याङ काई सेक भने जापानी आक्रमणप्रति मुकदर्शक भएर कम्युनिष्टहरू सिध्याउने अभियानमा लागिरहेका थिए । ठिक यसैबेला सन् १९३६ अगस्त १ मा चिनियाँ लालसेनाले एक श्वेतपत्रमार्फत् जापानी आक्रमणकारी विरुद्ध विद्रोह गर्न र राष्ट्रिय मुक्तिका लागि एक हुन चिनियाँ देशभक्त जनताका नाममा अपील गर्यो ।
बेइजिङमा विश्वविद्यालयका विद्यार्थीहरू सडकमा निस्किए । जनताको विद्रोहले देशव्यापी रूप लियो । त्यसैबेला चीनको उत्तरपूर्व र पश्चिमी प्रान्तका प्रशासक र सैन्य जनरलहरूलाई निर्देशन गर्न च्याङ काई सेक सियान पुगे । राष्ट्रिय सेनाका जनरलहरूले उनलाई नीति परिवर्तन गर्न सल्लाह दिए । सियानका विद्यार्थीहरू सडकमा निस्किए तर च्याङ काइ सेकले उल्टो विद्रोहलाई दमन गर्न आदेश दिए । सैनिक जनरलहरूले च्याङ काइ सेकलाई नै बन्दी बनाए । उनलाई जापानी साम्राज्यवादसँग लड्नका लागि कम्युनिष्टहरूसँग संयुक्त मोर्चा निर्माण गर्न बाध्य बनाए । र, जापान विरुद्धको प्रतिरोध युद्धको लागि कम्युनिष्ट–कोमिन्ताङ संयुक्त मोर्चा निर्माण भयो । सन् १९३६ डिसेम्बर १३ को यो घटना सियान घटनाको नामले चिनिन्छ ।

प्रतिरोध युद्ध, च्याङ काई सेक र सम्झौता वार्ता

सियान घटनापछि च्याङ काइ सेकले कम्युनिष्ट पार्टीलाई राष्ट्रिय पार्टीको मान्यता दिन बाध्य भयो । कम्युनिष्ट कोमिन्ताङ संयुक्त घोषणापत्र सार्वजनिक गरियो । लालसेनालाई आठौं मार्गसेना र मिलिसियालाई नौलो चौथो सेनाको दर्जा प्रदान गरियो । सन् १९३७ देखि सन् १९४५ सम्म जापान विरोधी प्रतिरोध युद्ध सञ्चालन भयो । दोश्रो विश्वयुद्धमा जापानी साम्राज्यवादको पराजय हुनुमा चिनियाँ जनताको प्रतिरोध पनि एक महङ्खवपूर्ण हिस्सा थियो ।
च्याङ काइ सेक भने सन् १९४० देखि नै जापानी आक्रमणकारीसँग नजिक पुगिसकेको थियो । ऊ जसरी पनि कम्युनिष्ट क्रान्तिकारीहरूलाई चीनबाटै सफाया गर्न चाहन्थ्यो । कम्युनिष्ट पार्टीले राष्ट्रिय सेनाका देशभक्तहरूलाई साथमा लिएर जापानविरुद्धको प्रतिरोध युद्धमा सफलता प्राप्त गर्यो । जापानी साम्राज्यवादीहरू चीनबाट लखेटिए लगतै सन् १९४६ को शुरुमै ठूलो धनराशीसहित जल, स्थल र वायुसेनाका साथ अमेरिकी साम्राज्यवाद चीन आइपुग्यो । चीनको मुक्तियुद्धको अन्तिम तयारीको लागि सँगै जाने प्रस्ताव लिएर कम्युनिष्ट पार्टीले च्याङ काई सेकसँग सन् १९४६ जनवरी १० का दिन नानजिङमा अर्को सम्झौता गर्यो । उक्त सम्झौता वार्ताको नेतृत्व चाओ एन लाईले गर्नुभएको थियो । तर त्यो सम्झौता केही दिनमै भङ्ग भयो । किनकि, च्याङ काई सेक कम्युनिष्ट संहार गर्ने अमेरिकी साम्राज्यवादको बफादार नोकर बन्न पुग्यो ।

राष्ट्रपति भवनमा लालझण्डा

सन् १९४६ पछि अमेरिकी सेनाको सहयोगमा च्याङ काइ सेकले कम्युनिष्ट पार्टीका विरुद्ध युद्धको घोषणा गर्यो । चिनियाँ जनमुक्ति सेनाले पनि यसलाई अन्तिम मुक्तियुद्धको रूपमा प्रतिरोध शुरु गर्यो। सन् १९४८ मा येनान फिर्ता लिन सफल जनमुक्ति सेनाले ५२ दिनको सङ्घर्षपश्चात् ४,७०,००० हजार दुश्मन सेनालाई सखाप पारि उत्तरपूर्वी चीन मुक्त गर्यो । चाउ सु प्रान्त कोमिन्ताङको दोश्रो ठूलो अखडा थियो । उत्तरी चाउ सु प्रान्तमा पर्ने ह्व याङ (जुन चाओ एन लाईको जन्मभूमि हो) मा रहेको च्याङ काई सेकको बलियो किल्लामा जनमुक्ति सेनाले हमला गर्यो र ५,५०,००० च्याङ काई सेकको सेनालाई ध्वस्त बनाई याङ सी नदीको उत्तरपूर्वको सम्पूर्ण भागलाई मुक्त गर्यो ।
तत्पश्चात् १० लाखको सङ्ख्यामा रहेको जनमुक्ति सेना दक्षिणतर्फ अघि बढ्यो । २८ घण्टाको लडाइँपश्चात् जनमुक्ति सेनाले बेइजिङ कब्जा गर्यो । जुन लडाइँमा जनमुक्ति सेनाले दुश्मन सेनाका ५,२०,००० फौजलाई माटोमा मिलाइदिएको रहेछ । र, सन् १९४९ अप्रिल २३ तारेखका दिन नानजिङको राष्ट्रपति भवनमा जनमुक्ति सेना लालझण्डा गाड्न सफल भएको रहेछ । लालक्रान्तिको इलाका भएकोले नै क्वी चो प्रान्तलाई लालपर्यटनको केन्द्र मानिदो रहेछ ।

सय वर्ष पुरानो रेष्टुरेन्टमा दिवाभोज

दिउँसो ह्व याङकै एक जिल्लामा रहेको Wenlou Restaurant मा दिवा खानाको लागि पुग्यौं । यो वस्ती सय वर्ष पुरानो रहेछ । पुरानो रेष्टुरेन्टमा स्थानीय खानाको स्वाद लिने अवसर जुराइयो । चिनियाँ साथीहरूले हाम्रो समस्या बुझिसकेका थिए । स्टिक र सी फुडमा हामी अभ्यस्त हुन सकेका थिएनौं । खाना खाने स्थानमा काँटा चम्चा, भात र साग छुटेको थिएन । साकाहारीहरूको नामलिष्ट पनि गाडीमै तयार भएर अर्डर हुने भएकोले रेष्टुरेन्टमा पुगेर भन्नुपर्ने अवस्था थिएन । खाना खाँदै गर्दा चिनियाँ कमरेडहरूले चीनले कसरी समृद्धि हासिल गर्यो भन्ने विषयमा प्रष्ट गर्न खोजे । उहाँहरूका अनुसार चीनले सन् १९८० को दशकदेखि विदेशी लगानीलाई आकर्षित गरेको रहेछ । लगानी आर्कषण गर्नका लागि भूमि निःशुल्क उपलब्ध गरंउनेदेखि लगानी गरेको तीन वर्षसम्म ट्याक्स (कर) फ्री को नीति अवलम्बन गरिएको रहेछ । लगानीकर्ताको पुँजी सुरक्षाको ग्यारेन्टी राज्यले गर्ने अवस्था भएपछि विदेशी पुँजी भित्रिएको रहेछ । यसबाट राज्यले कर प्राप्त गर्यो भने जनताले रोजगारी प्राप्त गरे । देशभित्र पूर्वाधार विकासको कामले प्राथमिकता पायो र चीनले आर्थिक क्षेत्रमा प्रगति गर्न सक्यो । प्रगतिको मुख्य आधारचाहीँ राजनीतिक स्थायित्व हो भन्न चिनियाँहरूले कहीँ पनि छुटाउँदैनन् । नेपालले पनि सबभन्दा पहिले राजनीतिक स्थायित्व हासिल गर्नुपर्दछ, उनीहरू सम्झाउँछन् ।

पार्टी स्कुलको अध्ययनः महत्वपूर्ण शिक्षा

हामी दिउँसो दुई बजे ह्व याङ पार्टी समितिको नेतृत्वमा रहेको पार्टी स्कुलमा पुग्यौं । विशाल भौतिक संरचनाको मूलगेटमा एकीकृत नेकपा (माओवादी) को डेलिगेसन टिमका कमरेडहरूलाई हार्दिक स्वागत भन्ने डिजीटल ब्यानर राखिएको थियो । भवनभित्रको वालमा पनि सोही वाक्य सजिएको थियो । हामीलाई सबभन्दा पहिले चिनियाँ क्रान्तिका गौरवगाथाहरूसँग साक्षात्कार गराइयो । यो पार्टी स्कुल विभागको एउटा ऐतिहासिक र गौरवपूर्ण पक्ष थियो । भित्तामा राखिएका असल कार्यकर्ता, असल लालसेना, असल नेतृत्व र व्यक्तित्व, तीनका जीवनका झाँकीहरूले स्कुलिङको एउटा शृङ्खला पूरा भएको जस्तो लाग्दथ्यो । क्रान्तिकालीन ती वीरगाथाहरू र तीनका शिक्षा आफैंमा स्कुल थिए । चाओ एन लाई आफैंमा एक असल नेता र एक असल कार्यकर्ता पनि हुनुहुन्थ्यो भन्ने कुरा बुझ्न गाह््रो थिएन । तस्विरमा बालक सी जीन पीङ (आजको विशाल चीनका शक्तिशाली राष्ट्राध्यक्ष) पनि भेटिनुभयो । उहाँ बेइजिङको स्कुले विद्यार्थी हुँदा अध्यक्ष माओको आह्वानमा ग्रामीण क्षेत्रमा गएर जनताको सेवामा लाग्नुभएको रहेछ । उहाँ आफ्नो बाबाको साथमा जनताको सेवामा लागेका तस्विरहरू पनि सजाइएका थिए । सी जीन पीङको बाबा माओको सेक्रेटरीको रूपमा काम गर्नुभएको कुरा पनि त्यहाँ बुझ्न पाइयो ।
ऐतिहासिक स्कुलको गौरवशाली पक्षको अध्ययनपश्चात् हामी स्कुल विभागको हलमा आयोजित औपचारिक बैठकमा सामेल भयौं । उक्त बैठकमा स्कुल विभागका प्रमुख प्रोफेसर मिस्टर चेन जियोङको टिमसँग दुईपक्षीय छलफल भयो । प्रोफेसर मिस्टर चेनकाअनुसार यो पार्टी स्कुल सन् १९४० मा स्थापना भएको रहेछ । यो स्कुलमा तीनजना निर्देशक, पाँचजना प्राध्यापक, तीनजना विद्यावारिधि गरेका र २० जना स्नातकोत्तर तह पूरा गरेका उप–प्राध्यापक तथा ८८ जना कर्मचारी रहेछन् । स्कुलका १८ वटा विभाग रहेछन् । स्कुलमा एकपटकमा ६०० भन्दा बढी विद्यार्थी अध्ययन गर्नसक्ने अवस्था रहेछ । यस स्कुलको प्रशासनिक भवन सन् १९९३ मा बनेको रहेछ । स्थापनाको पाँच वर्षको अवधिमै यस स्कुलले पार्टी केन्द्रको भावना पक्डेको रहेछ । पार्टी स्कुलले सरकारी कामलाई राम्रो र प्रभावकारी बनाउन पनि मद्दत गरेको रहेछ । यसले उत्तरी चीनका केन्द्रीय शहरहरूलाई राम्रो बनाउन र समृद्ध चीन बनाउने अभियानमा मद्दत गरेको रहेछ । यस स्कुलबाट चिनियाँ कम्युनिष्ट पार्टीका थुप्रै पदाधिकारीहरू दीक्षित भएको कुरा पनि बुझ्न पाइयो ।
उहाँकाअनुसार पार्टी स्कुलका अध्ययनका विषयवस्तु दर्शनशास्त्र, सामाजिक विज्ञान र अनुसन्धान हुन् । पार्टी स्कुल माक्र्सवाद–लेनिनवाद–माओ त्से तुङ विचारधारा र देङ स्याओपिङ सिद्दान्त पढ्ने, पढाउने महङ्खवपूर्ण स्थान हो । उहाँको अनुसार पार्टी स्कुलमा पढ्ने विषय र अनुसन्धान गर्ने विषय पार्टीको नेतृत्वमा रहनुपर्दछ । पार्टी स्कुलले पार्टीको राजनीतिक लाइन र केन्द्रीय समितिको नीति अङ्गाल्नुपर्दछ । स्कुलले तथ्यबाट सत्य पत्ता लगाउने, दक्षतालाई साथमा लिने काम गर्दछ । पार्टी स्कुलको गुणस्तरलाई प्राथमिकतामा राख्ने काम पार्टी स्कुल विभागले गरेको छ । पार्टीको सिद्दान्त र कार्यशैलीबीच तादाम्यता कायम राख्नु पार्टी स्कुलको महङ्खवपूर्ण काम हो । उहाँले भन्नुभयो, ‘हाम्रो सैद्धान्तिक शिक्षा माक्र्सवादको पाठलाई बनाउनुपर्दछ र चिनियाँ विशेषताअनुसारको राजनीतिक व्यवस्थालाई हामीले आत्मासाथ गर्नुपर्दछ ।‘ पार्टी स्कुलले पुस्तकहरू तयार गरेको रहेछ । मूल्याङ्कनको विधि बनाएको रहेछ । पार्टी पदाधिकारीहरूलाई शिक्षक–शिक्षिका बन्ने कोर्ष बनाइएको रहेछ । हामीले टिमलिडर कमरेड बलदेवमार्फत् पार्टी स्कुलको प्रसंसा गर्दै पार्टी स्कुलको आदान–प्रदान गर्ने प्रस्तावसहित छलफलमा सक्रिय सहभागिता जनायौं ।

डेलिगेसन बेइजिङ प्रस्थान

विशाल चीनमा २२ प्रान्त, पाँच स्वायत्त क्षेत्र, चार प्रत्यक्ष निर्देशित वा केन्द्रसासित महानगरपालिका, तीनवटा विशेष प्रशासनिक क्षेत्र र एउटा स्वसासित क्षेत्र गरी ३४ वटा राजनीतिक प्रशासनिक केन्द्र/प्रान्त रहेका छन् । बेइजिङ केन्द्र सरकार मातहतको महानगरपालिका हो । विश्वको एक महङ्खवपूर्ण केन्द्रमा पुग्नु हाम्रा लागि गौरवको विषय थियो । बेइजिङको आकाशमा बादल थियो । धर्तीमा पानीको बर्षा भइरहेको थियो । काठमाडौं उपत्यकाभन्दा ठूलो आकारको बेइजिङ एयरपोर्टमा हामी अवतरण भयौं । बेइजिङमा ६ वटा रिङरोड रहेछन् । आठ लेनका फराकिला सडक । जमिन मुनि, माथि र आकाशे पुल यत्रो सडक सञ्जाल हुँदा पनि ट्राफिक जाम भने केही न केही रहेछ । बढ्दो शहरीकरण र जनताको सुविधाभोगी मानसिकताका कारण शहरमा यो समस्या आइलागेको सरलाले बताउँदै थिइन् । हाल सरकारले गाडी दर्तामा कडाइँ गरेको रहेछ । सरला भन्दै थिइन् मैले ४ वर्ष पहिलेदेखि दिएको गाडीको निवेदन अझै पर्खाइमै छ । पूराना बासिन्दाभन्दा नयाँ आउनेको लागि शहर महङ्गो छ कारण बाहिरबाट आउनेको लागि शिक्षा, स्वास्थ्य, घर खरीदको लागि फरक मूल्य (कर) चुक्ता गर्नुपर्छ । सरकारले शहरको वातावरणीय सुन्दरता र दीर्घजीवनको लागि शहरमा भएका उद्योगहरू चाइना ओलम्पिकपूर्व नै अरु स्थानमा पुनःस्थापना गरिसकेको रहेछ ।

खानामा अक्टोपस, २८ तले घुम्ने टावरमा भोजन

बेइजिङको पहिलो दिवाभोज, २८ औं तलामा घुम्ने टावर र त्यसमा दिवाभोजको व्यवस्था रहेछ । बेइजिङको अवलोकन गर्दै सी फुड (समुन्द्री खाना) मा मुख हालियो । हाम्रा लागि सी फुडमा अभ्यस्त हुन गाह्रो रहेछ । अक्टोपसको खुट्टा टोक्दा खानामा नयाँ अनुभव भइरहेको थियो । उक्त टावरले पुरै शहर एकफन्को मारिसक्दा हामीले पनि खाना खाइसकेका थियौं । बेइजिङका बाँकी चारवटा रिङरोड पार गरेर हामीलाई वानसाउ होटेल (Wanshau Hotel) मा पुर्याइयो । जुन होटेलमा हाम्रो लागि चीन भ्रमणको बाँकी समयको वासस्थान मिलाइएको थियो । बेइजिङ ओलम्पिकको बेला यो होटेलले महङ्खवपूर्ण भूमिका पूरा गरेको रहेछ । यो सरकारी कम्पनीअन्र्तगतको भीआईपी होटेल रहेछ । हाम्रा लगेजहरू होटेलमा राखेर प्यासिफीक अन्डर सीको अवलोकनमा निस्कियौं । चिनियाँ सरकारी टेलीभिजन सीसिटिभिको पुरानो टावरमुनि चिनियाँ साथीहरू पाहुनालाई प्रशान्त महासागरको यात्रा नै गराउँदा रहेछन् । शुरुमा त मैले यो के केटाकेटी घुमाउने स्थानको टिकट काटेको होला भन्ठानेको । कुरा त्यसो रहेनछ, भित्र गएपछि पो थाहा भयो मनोरञ्जनको राज । समुद्री जीवहरू, मूलतः माछाका विभिन्न प्रजातीहरू, हिमाली क्षेत्रमा हिउँमा पाइने पेनगुइन, माछासँग खेलिरहेका ममेट (जलपरी) हरू, समुद्रमा अक्सिजन व्याग र हतियारसहित सैन्य तालिम लिइरहेका जलसेनाको सानो टुकडी, अनि डल्फिनको मालिकभक्ति र मान्छेप्रेम, विशेष गरी अभिनय, अभिभावक र खेलाडीको रूपमा मान्छेको जस्तै व्यवहार गर्ने डल्फिनको गतिविधि आदिले हामीलाई रोमाञ्चित र अच्चमित बनायो । मैले डल्फिनको मान्छेप्रेमबारे सुनेको थिएँ । त्यहाँ व्यवहारमै देख्न पाइयो । मैले फो डि, फाइफ डी मुभी (फिल्म) को कुरा सुनेको तर हेरेको थिइनँ । त्यसको अनुभव पनि बेइजिङमै गरियो । हैट ! यो हेर्न मुटु बलियो नै हुनुपर्ने रहेछ ।
कम्युनिष्ट होस् या गैरकम्युनिष्ट कोही पनि राजनीतिज्ञ चीन भ्रमणमा निस्किएर बेइजिङ पुग्दा तेयनमेन स्क्वायरस्थित माओको समाधिमा पुगेन भने सायद भ्रमण सार्थक भएको ठानिदैन होला । जमर्नी पुगेर हाइगेटमा माक्र्सलाई नभेट्ने, मस्कोमा पुगेर लेनिनसँग साक्षात्कार नहुने र चीन भ्रमणको क्रममा माओ त्से तुङको पार्थीव शरीरमा श्रद्धाञ्जली नगर्ने के को माक्र्सवादी ? हामी त झन माओवादी नै परियो ।
२० औं शताब्दीमा चिनियाँ सामन्तवादको जरो उखेल्दै विश्व साम्राज्यवादलाई चुनौती दिने सर्वहारावर्गका महान नेता, नौलो चीनका निर्माता, नयाँ जनवादी गणतन्त्र चीनका प्रथम राष्ट्राध्यक्ष, चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष तथा जनमुक्ति सेनाका सर्वोच्च कमाण्डर माओ त्से तुङको भौतिक शरीरसँग साक्षात्कार हुदैछौं भन्ने हर्ष र गर्वले होला बिहान सखारै निद्राले छोडेछ ।

(नेकपाका युवा नेता रमेश मल्लद्वारा लिखित ‘छिमेक यात्रा’पुस्तकको अंश)

Leave a Reply

Your email address will not be published. Required fields are marked *