७ दिनमै आमाको ‘काजक्रिया’ सकाए रानाभाटले

भन्छन्- ‘मेरै काखमा आमा बित्नुभयो, बाँचुञ्जेल कर्तव्य पूरा गरेँ’
   नबराज बराल comment 0

माघ १२, माघ । हिन्दु संस्कारअनुसार कसैको निधनपछि विधि पुर्याएर ‘काजक्रिया’ गरिन्छ । दाहसंस्कार गर्ने बेला मृतकका परिवारका सदस्य वा नाताले नजिक पर्नेले दाह्री–कपाल खुईल्याउँछन्, एक सरो सेतो कपडा लगाएर १३ दिनसम्म ‘चोखो’ अल्नो (नुन नहालेको) खाएर कसैलाई नछोई बस्ने गर्दछन् । १३ औँ दिनमा क्रिया अम्किएर मृतकका नाममा भाञ्जा वा ज्वाईंलाई दान गर्दछन् ।

कतिपयले ४५ दिनसम्म सेतो मात्रै लगाएर बराखी बोक्दछन् । एक वर्षसम्म माछा–मासु नखाई शुद्ध शाकाहारी बस्ने पनि चलन छ । यस्तै विभिन्न विधिबाट मृतकको नाममा कष्ट काट्ने र कर्तव्यवोध ठान्ने गरिन्छ । यसो नगरे ‘पितृले सराप दिन्छन्’ वा ‘कुल देवता रिसाउँछन्’ भनिन्छ ।

तर, पोखराका भीम रानाभाटले भने पुरानो संस्कारलाई तोडेका छन् । उनले आफ्नी ९२ वर्षीय आमा बाटुलीदेवीको निधनपछि न दाह्रीकपाल खौरिए, न त सेतो बस्त्रमै क्रिया बसे । अघिपछिझैँ नै घरमा बसे र भेट्न आउने पाहुनासँग वेदना साटे । कसैलाई ‘छोइछिटो’ गरेर बार्दा पनि बारेनन् ।

उनले ७ दिन अर्थात् एक हप्तामै आमाको काजक्रिया सकाए । मृतकका नाममा कसैलाई दान पनि गरेनन् । पोखराको भद्रकाली क्याम्पस अगाडिको रानाभाट निवासमा आज शनिबार बिहान ११ बजे एक कार्यक्रमका बीच आमालाई श्रद्धाञ्जली दिए । उनकी आमाको गत माघ ६ गते निधन भएको हो ।

प्रगतिशील लेखक संघ, कास्कीका अध्यक्ष रानाभाटले आफूले रुढिवादी परम्परा तोड्न जरुरी देखेकाले यसो गरेको बताए । उनले भने, ‘आफ्ना अभिभावकलाई बाँचुञ्जेल स्याहार–सुसार गर्ने हो । निधनपछि उहाँहरुले देखाएको सत्मार्गमा हिँड्ने हो ।’ उनले हिन्दु धर्मले विधिको नाममा अनावश्यक दुःख दिएको समेत तर्क गरे ।

कसैको निधनमा उनको सम्झनामा एक हप्तासम्म श्रद्धाञ्जली प्रकट गर्दा पर्याप्त हुने उनको भनाई छ । रानाभाटले भने, ‘मैले आमालाई बिरामी भएपछि अस्पताल लगेँ, उपचार गरेँ । बाँचुञ्जेल सन्तानको कर्तव्य पूरा गर्न कुनै कसर बाँकी राखिनँ । आमा मेरै काखमा बित्नुभएको हो । तसर्थ, मरेपछि थाहा पाउने भए पनि उहाँ मसँग रिसाएर दुःख दिनुहोला भन्ने लाग्दैन ।’

रानाभाटले क्रिया अवधिलाई १३ दिनबाट घटाएर एक हप्तामा ल्याउन समेत सबैसँग आग्रह गरेका छन् । उनी भन्छन्, ‘बाँचुञ्जेल कर्तव्य पूरा गरौँ, मरेपछि क्रियाको नाममा कष्ट गर्नु बेकार हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *