८ महिनामा १३९८ मोटरसाइकल हराए, केमा प्रयोग हुन्छन् ?

   नयाँ दैनिक comment 0

बैशाख १६, काठमाडौँ । गतआठ महिनामा काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लाबाट १ हजार ३ सय ९८ वटा मोटरसाइकल हराएको तथ्याङ्कले देखाएको छ । तीमध्ये ३ सय ७६ वटा मोटरसाइकल फेला परेका छन् ।

जसमध्ये २ सय ६३ वटा मोटरसाइकल सम्वन्धित व्यक्तिलाई तथा ९९ वटा मोटरसाइकल भन्सार कार्यालयमा बुझाएको छ । वाँकी ३० वटा मोटरसाइकल सम्वन्धित व्यक्तिलाई बुझाउन बाँकी छन् । चोरीमा संलग्न ६९ जनालाई प्रहरीले पक्राउ गरी आवश्यक कानूनी कारवाही गरेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

प्रहरीका अनुसार ह्विललक, डिसलक, ब्रेकलक, फ्युललक लगाउन अल्छी नमान्ने र सम्भव भएसम्म जिपिएस ट्रयाकर लगायतका उपकरणको जडान गरी मोटरसाइकल चोरीबाट सुरक्षित रहन सकिन्छ । काठमाडौंको बौद्ध, जोरपाटी, पेप्सीकोला, बानेश्वर, कोटेश्वर, चावहिल, गौशाला, महाराजगञ्जस्थित शिक्षण अस्पताल वरपर, बुढानिलकण्ठ, ठमेल, सुन्धारा, बालाजु, कलंकी, पुल्चोक, ग्वार्को, जावलाखेल र लगनखेलबाट बढी मात्रामा मोटरसाइकल चोरी हुने गरेका छन् ।

उपत्यका बाहिर बिर्तामोड, दमक, विराटनगर, धरान, इनरुवा, सप्तरी, रौतहट, कास्की, रुपन्देही, सुर्खेत र कैलाली लगायतका विभिन्न ठाउँबाट बढी मात्रामा मोटरसाइकल चोरी हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

गत आर्थिक वर्षमा ०७४–०७५ मा १ हजार ६ सय ३४ वटा मोटरसाइकल चोरी भएको र ४ सय ८१ वटा मोटरसाइकल प्रहरीले फेला पारेको दावी गरेको छ । प्रहरीले ४२ जनालाई पक्राउ गरी आवश्यक कानूनी कारवाही गरेको समेत बताएको छ ।

मुलुकी फौजदारी (संहिता) ऐन २०७४ को परिच्छेद २०, धारा २४१ को कसुरमा मोटरसाइकल चोरी गर्ने वा गराउने व्यक्तिलाई सोही परिच्छेदको धारा २४२ अन्तर्गत दुई वर्षदेखि सात वर्षसम्म कैद र २० हजार रुपैयाँदेखि ७० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान छ ।

मोटरसाइकल चोरी हुनुभन्दा पहिले स्वयं धनी सचेत भएमा चोरीमा कमि आउने ट्राफिक प्रहरीको अपेक्षा छ । मोटरसाइकल चोरी भएमा जति छिटो ट्राफिक प्रहरीलाई खबर गर्‍यो त्यति नै मोटरसाइकल भेटिने सम्भावना रहने प्रहरी बताउँछन् ।

केमा प्रयोग हुन्छन् ?

चोरीका मोटरसाइकल प्रायः दुर्गम बस्तीमा घाँस दाउरा बोक्न, दुध ओसारपसार गर्ने काममा प्रयोग हुने गरेको प्रहरी बताउँछन् । राजधानीका मोटरसाइकल दुर्गम जिल्लामा लगेर नक्कली ब्लुबुक बनाएर चलाउने, नयाँ मोटरसाइकलको पाटपूर्जा खोली पुराना सक्कली मोटरसाइकलमा राख्ने र काम नलाग्ने पार्टपूर्जा बेवारिसे अवस्थामा फाल्ने गरेकाले पनि मोटरसाइकल फेला पार्नमा समस्या देखिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *