सीमा क्षेत्रमा काँडेतार लगाउँदै ‘विप्लव’का कार्यकर्ता

   नयाँ दैनिक comment 0

माघ ९, काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले नेपाल र भारतको सीमा क्षेत्रमा काँडेतार लगाएका छन् । सो पार्टीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले भारतबाट अतिक्रमित सीमा क्षेत्र चितवनको माडीस्थित सोमेश्वरगढी नजिकै मर्चरी भन्ने स्थानमा काँडेतार लगाएको हो ।

माडी क्षेत्रमा भारतले दुई सय मिटर वर सीमा स्तम्भ सारेको स्थानीयबासी बताउँछन् । त्यही ठाउँमा विप्लव नेतृत्वको माओवादीसम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीले तारबार गरेपछि स्थानियले प्रशंसा समेत गरेका छन् ।

खुल्ला सिमानाका कारण विभिन्न आपराधिक गतिविधि बढेकाले बोर्डर सिल गर्नुपर्ने र भारतीय सीमा अतिक्रमण रोकिनुपर्ने सन्देश दिन तारबार गरेको संगठनले जनाएको छ । यस्तो अभियान अन्य जिल्लामा पनि जारी राख्ने संगठनका अध्यक्ष चिरञ्जीवी ढकालले बताए । ‘हाम्रो विद्यार्थी संगठनले राष्ट्रिय स्वाधिनताको आन्दोलनलाई अगाडि बढाइरहेको छ, त्यही अभियान अन्तर्गत माडी क्षेत्रमा काँडेतार लगायौं । यस्तो अभियान लिएर हामी अरु जिल्लामा पनि जान्छौं । लिपुलेक पनि पुग्छौं’ उनले भने ।

एक तथ्यांकअनुसार भारतले नेपालका ७१ ठाउँमा ७८ हजारभन्दा बढी हेक्टर नेपाली भूमि अतिक्रमण गरेको छ । तर अतिक्रमित भूमि फिर्ता गराउन पहल नगरेको भनेर सरकारको आलोचना हुँदै आएको छ ।

तारबार लगाउन स्थानीयबासीसहित करिब १४५ जनाको टोली खटिएको थियो । उनीहरुले नेपालको राष्ट्रिय झण्डा र सीमा अतिक्रमण विरुद्ध नारा लेखिएको ब्यानर बोकेका थिए । ब्यानरमा ‘सीमा मिच्न बन्द गर’ अतिक्रमित भूमि फिर्ता गर, राष्ट्रिय स्वाधिनताको रक्षा गर’ नारा लेखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *